August 20, 2017

संशोधन प्रस्तावलाई परिमार्जन सहित पास गरे मात्र मुलुकमा निर्वाचन सम्भव– गच्छेदार

दिनेश शर्मा

२१ माघ, राजविराज । मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक)का राष्ट्रिय अध्यक्ष विजय कुमार गच्छेदारले संविधान संशोधन प्रस्तावलाई परिमार्जन सहित पास गरे मात्र मुलुकमा निर्वाचन सम्भव रहेको वताएको छन् ।

शुक्रवार राजविराजमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले सरकार संविधान संशोधन नगरी हावाको भरमा चुनावको हतारमा लागेकाले यथास्थितीमा सार्थक निर्वाचन सम्भव नहुने दावी गरेका छन् । यथास्थितीको चुनावमा आफुहरु सहभागि नहुने उनले बताएका छन् ।

मुलुकको अवस्था अत्यन्त संकटपुर्ण अवस्थामा रहेको कारण विकास समेत अवरुद्ध भएको वताउँदै उनले ठुला दलका नेताहरु देशको समस्या प्रति गम्भिर हुन नसकेको टिप्पणी गरे । ‘कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुनै सत्ता नेतृत्वको केन्द्रविन्दु रहँदै आएकाले कुनै वेला खाद्यायन्न निर्यात गर्ने मुलुक अहिले बाहिरबाट सडेको चामल आयात गर्ने अवस्थामा पुगेबो उनले बताएका छन् ।

६५ वर्षदेखि संविधान सभा मार्फत संविधान वनाउने जनताको चाहना अझै पनि पुरा हुन नसकेको भन्दै उनले भने–‘संविधान त बनेको छ तर, कार्यान्वयन प्रति ठुला तीन दलका नेता अझै गम्भिर हुन सकेका छैनन् ।’ नेता गच्छेदारले ठुला दलहरुकै अगुवाईमा भएका आन्दोलनहरुवाट मुलुकमा महत्वपुर्ण परिवर्तन आएको भएपनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठुला दल नेतृत्वमा असफल भएको जिकिर गरे । उनले भने–‘नेताहरुको आह्वानमा जनता आन्दोलनमा उत्रने त गरेका छन् तर, जनता र देशको समस्याप्रति ठुला दलका नेताहरु नै उदासिन रहँदै आएका छन् ।’

पार्टीका जिल्ला अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष जितेन्द्रनारायण देव, महिला नेतृ गितादेवी चौधरी, युवा फोरमका केन्द्रिय अध्यक्ष वेदनारायण गच्छेदार, विद्यार्थी फोरमका अध्यक्ष कपिलेश्वर यादव लगायतले पनि वोलेका थिए ।