October 23, 2017

खेलाडीलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद्को माग

काठमाण्डौ, ५ वैशाख । राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलाडीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापालाई ज्ञापन पत्र बुझाउँदै अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क वा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेको हो । परिषद्ले राष्ट्रिय खेलाडीहरुको उपचारको लागि छुट्टै अस्पतालको स्थापना गर्न पनि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताए । उनले कार्यदल गठन गर्दै खेलाडीहरुको माग सम्बोधन गर्न पहल गर्ने धारणा राखे ।

नेपालमा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता १ सय २ जना र एशियन खेलकुदमा पदक विजेता खेलाडीहरुको संख्या ८ रहेको छ ।