August 19, 2017

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य मेला आयोजना गर्ने

काठमाण्डौ, १६ चैत्र । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी चैत्र १८ र १९ गते काठमाण्डौमा खाद्य मेला आयोजना गर्ने भएको छ ।

स्थानीय खाद्य वस्तुको प्रवर्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेष खाद्य पदार्थ सहित काठमाण्डौको भृकुटीमण्डपमा मेला आयोजना गरिने पत्रकार सम्मेलनमा विभागले जानकारी दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले दुर्गम पहाडी क्षेत्र लगायत देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्न स्थानीय कृषि उत्पादनका बारेमा मेला उपयोगी हुने बताए ।

खानेबानी सुधारका लागि विभिन्न क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवर्धन गर्न विभागले यस्तो अभियान चलाएको उनले जानकारी दिए ।

मेलामा विभिन्न जातिका परम्परागत परिकारका १५ वटा स्टल , जानकारीमूलक २० वटा स्टल र विभिन्न उद्योगहरुबाट खाद्य सामग्री बिक्री गरिने ४५ स्टल गरी जम्मा ८० वटा स्टल रहने आयोजकले जनाएको छ ।