August 17, 2017

खरिद नियामावलीको संशोधनप्रति नेपाल निर्माण व्यवसायी महासंघको आपत्ति

काठमाण्डौ, १६ चैत्र । एक करोड रुपैयाँसम्मका विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराउन पाउने गरी सरकारले सार्वजनिक खरिद नियामावलीमा गरेको संशोधनप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

महासंघले काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी उक्त संशोधन फिर्ता लिन आग्रह गरेको हो । उपभोक्ता समितिलाई निर्माणसम्बन्धी पर्याप्त ज्ञान नहुने र उनीहरुबाट गुणस्तरीय निर्माण हुन नसक्ने भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघका अध्यक्ष शरदकुमार गौचनले यसबाट स्थानीय तहमा भ्रष्टाचार बढ्ने र बजेटको चरम दुरुपयोग हुने खतरा बढ्ने बताए ।

यसअघि ६० लाख रुपैयाँसम्मको विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराउन सकिने प्रावधान थियो । सरकारलाई उक्त संशोधन फिर्ता लिन दबाब दिने उद्देश्यले महासंघले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।