खरिदारमा आवेदन दिन एसएलसीमा सी ग्रेड ल्याएको हुनु पर्ने

काठमाण्डौ, १९ फाल्गुन । लोकसेवा आयोगले खरिदार परीक्षामा सहभागी हुन कम्तिमा पनि एसएलसीमा ‘सी’ ग्रेड ल्याएको हुनु पर्ने बताएको छ ।

खरिदार परीक्षाका लागि लोकसेवा आयोगले शिक्षा मन्त्रालयसँग समन्वय गरेर शैक्षिक योग्यता निर्धारण गरेको हो । खरिदार परीक्षामा सामान्यतया एसएलसी उत्तीर्ण भएका परीक्षार्थीहरु सहभागि हुन पाउने व्यवस्था रहेको छ ।

‘अब खरिदारको परीक्षा दिनका लागि ग्रेड प्वाइन्ट एभरेज कम्तीमा २ वा २ भन्दा माथि हुनुपर्छ । यो भनेको ‘सी’ वा ‘सी’ भन्दा माथिको ग्रेड हुनुपर्ने लोकसेवा आयोगका सहसचिव लक्ष्मीविलास कोइरालाले बताए ।

खरिदार पदको विज्ञापन बुधबार खुलाउने तयारी गरेको आयोगले जनाएको छ ।