क्यासिनोले अदालतको फैसला कार्यान्वयन नगरेकोमा मजदुरहरुको गुनासो

काठमाण्डौ, २८ चैत्र । क्यासिनो नेपालका पीडित मजदुरहरुले क्यासिनो माजोङ्ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे बाध्य भएर आगामी बैशाख २१ गतेबाट सम्बन्धित क्यासिनोमा गएर धर्ना दिने चेतावनी दिएका छन् ।

सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले ठूलो राजश्व रकम छल्न र कर्मचारी बक्यौता रकम छल्नको लागि क्यासिनो नेपालको नाम परिवर्तन गरेर क्यासिनो माजोङ् बनाइएको आरोप लगाएका छन् ।

कार्यक्रममा पीडित मजदुरको तर्फबाट हिक्मत भण्डारी, दिपक गिरी, प्रताप रानामगर, नागरिक समाजका तर्फबाट ध्रुव नारायण श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए । पीडित गिरीले श्रम, पसिना बगाएको संस्थासँग पाउनुपर्ने ज्याला माग गर्दा संघर्ष गर्दागर्दै दुई जना साथीहरुले ज्यान गुमाइसकेको समेत बताए ।

क्यासिनो नेपालमा कार्यरत कर्मचारीहरको र अन्य सम्पूर्ण तीर्न बुझाउनुपर्ने दायित्व क्यासिनो माजोङ्ले स्विकार गरी सम्झौता गरेको उनीहरुले जनाएका छन् ।