October 19, 2017

कोहलपुरमा डा. भट्टराईले भने, – ‘ विकास र समृद्धिको सपना पुरा गर्न नयाँ शक्ति विकल्प भएर आएको छ’

कमला हमाल /कोहलपुर,  १२ चैत्र ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले राजनीतिक स्थिरताको जगमा टेकेर समृद्ध नेपाल बनाउन चाहेको बताएका छन  ।

नयाँ शक्ति पार्टीको जारी हिमाल–पहाड–तराई/मधेश थरुहट राष्ट्रिय अभियानलाई शनिबार बाँकेको कोहलपुरमा आयोजित आमसभामा डा. भट्टराईले पहाडी तथा हिमाली क्षेत्रमा पूर्व पश्चिम राजमार्ग, तराईलाई जोड्ने आवश्यक लिंक रोडहरु, फास्ट ट्र्याक, गाउँपालिकाहरुमा स्तरीय कलेज, बैंकहरु, स्वास्थ्य संस्थाहरु, प्रत्येक प्रदेशमा एक हजार मेगावाटको जलविद्युत परियोजना, ठूला सहर, पर्याप्त बाटोघाटो आदि निर्माण गर्न सके मात्र जनताले समृद्ध नेपालको अनुभूति गर्ने धारणा व्यक्त गरे ।

अहिलेको नेपाली पुस्ताले विकास र समृद्धिको सपना मात्र देख्ने गरेकाले यही पुस्ताको सपना साकार पार्न नयाँ शक्ति पार्टी ‘संसारभरका युवाहरु नेपालमा श्रम गर्न आउने अवस्था सिर्जना गरिनेछ, बालकालिकाहरुलाई उचित शिक्षादीक्षाका लागि उपयुक्त विद्यालयहरु संचालन गर्न चाहन्छौं,’ उहाँले अगाडि थप्नुभयो, ‘वृद्धवृद्धाका लागि निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गर्ने, आवास गृहहरुको निर्माण गर्ने, छुवाछुत मुक्त समाज बनाउने, पेशागत सीप भएका दलितहरुका लागि निशुल्क कर्जा प्रवाह, आवासको व्यवस्था गर्ने, तेस्रो लिंगीहरुका लागि बराबरीका अधिकार दिने सँकल्पका साथ अघि बढेको बताए ।’

देशमा पुरानै भ्रष्ट शक्तिहरु हावी भएको टिप्पणी गर्दै डा. भट्टराईले अरबौं भ्रष्टाचार गरेर चुनावी खर्चको जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘एनसेलको करछली प्रकरणमा ३७ अरब लाभकरबाट उन्मुक्ति दिएर सरकारले इतिहासकै सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार गरेको छ,’ उनले भने, ‘भ्रष्टाचारमा पुराना पार्टीहरुलाई पनि उछिन्दै माओवादी केन्द्र अगाडि आइरहेको छ ।’

अस्थिरतामा देशको विकास हुन नसक्ने तर्क गर्दै  डा. भट्टराईले सबैलाई न्यायपूर्ण ढंगले अधिकार दिएर राष्ट्रिय एकता बलियो पारेर  इन्द्रेणी राष्टवादको प्रवर्द्धन गर्नु पर्ने कुरामा जोड दिए ।

नयाँ शक्तिले तीनवटै निर्वाचन एकैचोटी गर्न प्रस्ताव गरेको स्मरण गराउँदै डा. भट्टराईले नयाँ शक्तिले त्यसैका लागि ६ सूत्रीय समाधानमुखी प्रस्ताव राखेको उल्लेख गरे ।

सभालाई सम्बोधन गर्दै नेता रामकुमार शर्माले नयाँ शक्ति पार्टी देशबाट छिटो गरिबी हटाएर मुलुकलाई समृद्ध बनाउने सपना देखेर अगाडि बढेको वैकल्पिक शक्ति भएको स्पष्ट पारे ।

उनले एमालले तराई मधेशको दुखेको मनमा नुन छर्केर सामाजिक विद्वेश फैलाउन खोजेको आरोप लगाए ।  आफूलाई राष्ट्रवादी भन्ने पार्टीहरुले नश्लीय, महेन्द्रीय राष्टवादको कुरा गरिरहेका छन् र तराई मधेशका दाजुभाइलाई विहारी भनेर गिज्याइरहेका छन् भन्दै देशलाई विखण्डन गर्ने नभई एकतावद्द गराउने चुनावको पक्षमा नयाँ शक्ति पार्टी  भएको बताए ।