Breaking News

कोसी यातायात विभागमा ५६ करोड हिनामिना ,पाँच कर्मचारी निलम्बित

काठमाण्डौ,७ वैशाख । साढे ५६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कोसी यातायात व्यवस्था कार्यालयका प्रमुखसहित पाँच जना निलम्बनमा परेका छन ।

अनियमितताको आरोपमा यातायात व्यवस्था विभागले कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल तथा नायब सुब्बा टीकाराम बास्तोलालाई निलम्बन गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले ५६ करोड ४८ लाख अनियमितता भएको पुष्टि भएपछि दोषी कर्मचारीलाई निलम्बन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइएको बताए ।

राज्यको ढुकुटीमा जम्मा गर्नुपर्ने करोडौं रुपैयाँ कर्मचारीहरूको मिलेमतोमा हिनामिना गरिएको छ । यसले सिंगो निजामती कर्मचारीको साख गिराउने काम गरेको छ,’ भट्टराईले भने, ‘राजस्व हिनामिना गर्नेहरूमाथि विभाग कठोर रूपमा अघि बढ्छ ।’ यातायात व्यवस्था विभागले बुधबार नै अख्तियारलाई पत्र लेख्दै इटहरी यातायात कार्यालय सवारीका प्रमुखसहितका पाँच कर्मचारीबाट ५६ करोड ४८ लाख रुपैयाँ अनियमितता भएकाले उनीहरूलाई कारबाही गर्न आग्रह गरेको छ । विभागले छानबिनसम्बन्धी फाइल अख्तियार पठाएको छ । अख्तियारले बुधबार नै इटहरीस्थित यातायात कार्यालयका सबै खाता सिल गरेर नियन्त्रणमा लिएको छ।

महानिर्देशक भट्टराईका अनुसार इटहरीस्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित पाँच कर्मचारीको मिलेमतोमा आर्थिक वर्ष ०७१/७२ ,०७२ /७३ र ०७३ /७४ को फागुन मसान्तसम्म ५६ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको पाइएको हो ।

सेवाग्राहीबाट उठ्ने सवारी कर, यातायात दस्तुर, सडक सुधार कर तथा आयकर नक्कली सिस्टम बनाएर उठाउने गरेको विभागले जनाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

shares