कोलकात्ता नाइट राइडर्स १० विकेटले विजयी

काठमाण्डौ, २६ चैत्र । अाईपिएल अन्तर्गत गएराति भएको खेलमा कोलकात्ता नाइट राइडर्सले गुजरात लायन्स विरुद्ध १० विकेटको जित हासिल गरेको छ ।

गुजरात लायन्सले पहिला ब्याटिङ गर्दै १ सय ८३ रनको योगफल खडा गरेको थियो । जवाफी ब्याटिङ गरेको कोलकात्ताले १४. ५ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य भेट्यायो ।

उसका लागि ओपनरद्वय गौतम गम्भिर र क्रिस लिनने उत्कृष्ट खेल पस्किए । कप्तान गम्भिरले ४८ बलको सामना गर्दै ७६ रन बनाए भने लिनले ४१ बलको सामना गर्दै ९३ रन बनाए । गम्भिरकाे पारीमा १२ चाैका सामेल थियाे भने लिनले ६ चाैका र ८ छक्का प्रहार गरेका थिए । कोलकात्ताका लागि कुलदीप यादवले २ र पियुस चौला र ट्रेन्ट बोल्टले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको गुजरातका लागि कप्तान सुरेश राइनाले नटआउट ६८ रन बनाए भने दिनेश कार्तिकले ४७ रन बनाए । त्यस्तै, ब्रेन्डन म्याकलमले बनाएको ३५ रनले हार भने टार्न सकेन ।

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेल नेपाली समयानुसार, अपरान्ह ४ः१५ मा किङ्स इलाभेन पञ्जाब र राइजिङ पुने सुपरजाइन्ट्सबीच हुने छ भने दोस्रो खेलमा राति ८ः१५ मा रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयरडेभिल्स आमनेसामने हुँदैछन् ।