August 16, 2017

कैलालीमा १सय २३ सीमास्तम्भ गायब

काठमाण्डौ,१३ चैत्र । नेपाल–भारत सीमा छुट्याउने जंगेपिलरसहित एक सय २३ सीमास्तम्भहरू हराएका छन्। कैलाली जिल्लाको क्षेत्रमा पर्ने सीमा क्षेत्रबाट ती स्तम्भ हराएका हुन् ।

भारतले कैलालीका विभिन्न क्षेत्रहरूमा सीमा अतिक्रमण गर्ने क्रममा स्तम्भहरू गायब पार्ने गरेको आरोप नेपाली पक्षले लगाउने गरेका छन्। सीमास्तम्भ हराएको वाषौं बिते पनि पुनर्निर्माणको काम पनि हुन सकेको छैन। कैलालीको विभिन्न क्षेत्रका सीमा नाकामा रहेका २० जंगेपिलर र एक सय ३ सहायक पिलर गरेर एक सय २३ सीमास्तम्भ हराए पनि कति जमिन अतिक्रमण भएको छ भन्ने तथ्यांक कैलाली जिल्ला प्रशासनसँग नभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।

कैलालीको सीमामा ५३ जंगेपिलर र सहायक २ सय २९गरी २८२ पिलर हुनुपर्नेमा अहिले एक सय ५९ रहेको छ । वर्षातको समयमा आउने बाढीका कारण केही सीमास्तम्भ हराउने गरेको, केही भारतीयहरूले नै भत्काउने गरेको अवस्थाले सीमास्तम्भहरू नियमित हुन नसकेको अवस्था छ। पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेका स्तम्भ अढाइ वर्षदेखि पुनर्निर्माण हुन सकेको छैन। नेपाल–भारतको संयुक्त बैठकमा सीमास्तम्भहरू मर्मत गर्ने विषयमा छलफल हुने गरी पनि निर्णय गरी कार्यान्वयन गर्ने पक्ष भने फितलो छ ।

भारतको लखिमपुर जिल्ला र नेपालको कैलालीको सुरक्षा अधिकारीबीच २०७० साल असोजमा धनगढीमा भएको सीमा बैठकमा दुवै देशका सीमास्तम्भको मर्मत रंगरोगनको काम गर्ने सहमति भएपछि ०७१ जेठदेखि दुवै देशका टोलीले सीमास्तम्भको मर्मत पनि गर्ने भनिएको थियो तर ती कार्य नहुँदा हराएका सीमास्तम्भको खोजीकार्य पनि हुन सकेको छैन। यो खबर आजको नेपाल समाचारपत्रमा छ ।