Breaking News

के हुन्छ प्रदेश प्रमुखको काम ? यस्तो छ व्यवस्था

काठमाण्डाै, ३ माघ । सरकारले लामो समयको कसरतपछि अाज सात वटै प्रदेश प्रमुखको नियुक्ति गरेको छ ।

सरकारले वाम गठबन्धनसँग सहमति गरेर मात्रै प्रदेश प्रमुखको प्रमुखको नियुक्त गर्न खाेजे पनि वाम गठबन्धन तयार नभएपछि राजपा र संघीय समाजवादी फोरमसँग सहमति गरेर प्रदेश प्रमुखको प्रमुख नियुक्त गरेकाे हो ।

दुर्इ दलसंगकाे सहमति अनुसार प्रदेश २ मा फोरम र प्रदेश ५ मा राजपाले पाएको छ भने बाँकी प्रदेशमा कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गरिएको छ । प्रदेश नम्बर १ को प्रमुखमा डा. गोविन्द सुब्वा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर,  ५ मा उमाकान्त झा, ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्ति गरेको हाे ।

विगत कस्तो छ प्रदेश प्रमुखको ?

प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्द सुब्बा प्राध्यापक हुन् । उनी पहिले कम्युनिष्ट विचारधाराका भए पनि पछि मात्रै कांग्रेस प्रवेश गरेका थिए ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् । सुरुमा उनलाई प्रदेश ५ को प्रमुख नियुक्त गर्न लागिएको थियो तर, फोरमको दबावमा २ मा आएका छन् ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी उनले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी छिन् । कोइराला चुनावको पूर्वसन्ध्यामा कांग्रेस प्रवेश गरेकी हुन् ।

देश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनका पूर्वअध्यक्षसमेत रहेका कुँवर सुशील कोइराला सरकारको पालामा सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता बनेका थिए ।

प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका स्वस्थ्य मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् ।

प्रदेश ६ काे प्रदेश प्रमुख बनेका दुर्गाकेशर खनाल सुर्खेत कांग्रेसका संस्थापक नेता हुन् । पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का लगायतका कांग्रेसीहरु उनका चेला हुन् । उनी स्थानीय जनपब्लिक हाइस्कुलमा अध्यापन पनि गर्थे। खनाललाई ०४८ सालमा कांग्रेसले राष्ट्रियसभामा मनोनीत गरेको थियो ।

प्रदेश ७ को प्रमुख नियुक्त भएका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । बहुदलपछि पहिलो संविधानसभाको चुनावसम्म उनी राप्रपाबाटै चुनाव लडे पनि पछि उनी कांग्रेसमा प्रवेश गरेका थिए।

त्यसैगरी सरकाले सात वटै प्रदेश अशस्थायी राधानी तोकिएको छ । प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलार्इ अस्थायी राधानी तोकिएको हाे ।

यस्ताे छ प्रदेश प्रमुख सम्बन्धी व्यवस्था

-संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था गरिएको छ ।

-सरकारको सिफारिसमा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्ने व्यवस्था छ ।

-प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

-“राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ,” संविधानको धारा १६३ को उपधारा (३) मा भनिएको छ ।

-एउटै व्यक्ति एकपटक भन्दा धेरै प्रदेश प्रमुख हुन नपाउने  संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखको योग्यता के ?

संविधानमा प्रदेश प्रमुखको योग्यताका बारेमा पनि केही स्पष्ट पारिएको छ ।

संघीय संसदको सदस्य हुन योग्य भएको, ४५ वर्ष उमेर पूरा भएको  र कुनै कानुनले अयोग्य नभएको उल्लेख गरिएको छ ।

कस्तो अवस्थामा रिक्त हुन्छ ?

प्रदेश प्रमुखले राजीनामा दिएमा, पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा र मृत्यु भएमा रिक्त हुने संवैधानिक व्यवस्था छ । कुनै पनि कारणले रिक्त भएमा राष्ट्रपतिले अर्को प्रदेशको प्रमुखलाई जिम्मा दिन सक्ने संवैधानिक व्यवस्था पनि छ ।

प्रदेश प्रमुखको काम के ?

केन्द्रमा राष्ट्रपतिको जस्तो भूमिका हुन्छ, प्रदेशमा प्रदेश प्रमुखको भूमिका पनि लगभग त्यस्तै हुन्छ । प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्न सक्नेछ । र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।
कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गर्न सकिने संवैधानिक  व्यवस्था रहेको छ ।

shares