August 24, 2017

केहि भूमिगत र अपराधिक समुह निर्वाचनका लागि चुनाैतीपूर्ण– गृहमन्त्री

मोरङ्ग २५ चैत्र । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले सुरक्षाका सम्पूर्ण रणनीति अवलम्बन गर्ने बताएका छन् ।

विराटनगरमा पूर्वाञ्चलस्तरीय सुरक्षा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले केही भूमिगत र अपराधिक समूह निर्वाचनका लागि चुनौतीपूर्ण भएकाले कडाइका साथ प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री निधिले मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिएका । उनले मधेशी मोर्चा चुनावमा सहभागी हुने भए दुई चरणमा निर्वाचन गराउन सकिने बताए ।

सरकारमा मर्यादाक्रमकोे विषय प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलाउने भन्दै मन्त्री निधिले यसमा अनावश्यक विवाद गर्न नहुने बताए ।

सुरक्षा गोष्ठीमा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, गृहसचिव लोकदर्शन रेग्मी, क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, निमित्त प्रहरी महानिरीक्षक डाक्टर दिनेशचन्द्र पोखरेल, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी, नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी विनोद श्रेष्ठ लगायतसहभागिता रहेको थियो ।