October 23, 2017

कुलमान घिसिङ र हरिमान श्रेष्ठलाई हाइड्रो नेपालले अवार्ड प्रदान गर्ने

काठमाण्डौ, १७ चैत्र । लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरे बापत् नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हाइड्रो नेपालले २०७३ को लागि ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ प्रदान गर्ने घोषणा गरेकाे छ ।

त्यसैगरी, हाइड्रो नेपालले २०७३ को हाइड्रो नेपाल ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ डा. हरिमान श्रेष्ठलाई जलविद्युत् क्षेत्रमा लामो समयदेखि उनको निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै प्रदान गर्ने निर्णय गरेको छ ।

 

उनले सन् १९६६ मा मस्को पावर इन्सिटिच्युट (तत्कालीन सोभियत संघ) बाट आफ्नो जलस्रोतसम्बन्धी रिसर्चको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३, हजार मेगावाट रहेको पत्ता लगाएका थिए ।

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड जलविद्युत्, ऊर्जा तथा वातावरण सम्बन्धमा उच्चतम योगदान दिने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको छ ।

हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड २०७३ तथा हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७३ का छनोटका लागि अवार्ड मूल्यांकन समिति निम्न व्यक्तिहरु छन्–

सूर्यमान शाक्य, भिजिटिङ फ्याकल्टी, काठमाडौं विश्वविद्यालय (अध्यक्ष)
खड्गबहादुर विष्ट, निवर्तमान अध्यक्ष, इपान (सदस्य)
जीवा लामिछाने, निवर्तमान अध्यक्ष, एनआरएनए (सदस्य)
उपेन्द्रदेव भट्ट, प्रधान सम्पादक हाइड्रो नेपाल जर्नल (सदस्यसचिव)
राजेन्द्रप्रसाद थान्जू, संस्थापक, एसोसिएट एडिटर, हाइड्रो नेपाल (आमन्त्रित सदस्य)

हाइड्रो नेपालले एक्सिलेन्स अवार्ड तथा हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड छिट्टै एक विशेष कार्यक्रम गरी प्रदान गर्ने छ ।