August 21, 2017

कृषि तथा जलस्रोत समितिले गर्यो कुलमानको प्रशंसा

काठमाण्डौ, ६ चैत्र । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिको आइतबार बसेको बैठकले लोडसेडिङ अन्त्यका लागि प्राधिकरण र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको योगदान प्रशंसनीय रहेको बताएको छ ।

लोडसेडिङ अन्त्यका लागि नेपाल विद्युत प्राधिकरण र कुलमानले गरेको कार्य प्रशंसा गर्दै यसलाई अझ व्यापक र प्रभावकारी बनाउन ग्रामीण भेगमा विद्युत सेवा प्रवाहलाई महत्व दिएर काम गर्न आग्रह गरेको छ ।

बैठकमा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले उर्जासंकट अन्त्यका लागि कार्ययोजना आइसकेको जानकारी दिँदै केही समयभित्रै मुलुकका अधिकांश ठाउँमा लोडसेडिङ अन्त्य हुने समितिको भनाई छ ।

उनले बजेटको माग गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहे पनि प्राधिकरणले बजेटको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छिट्टै विद्युत ट्रान्समिसनको क्षमता बढाउनुपर्ने उनको भनाइ थियो ।

बैठकमा ऊर्जा मन्त्रालयले चालु आर्थिक वर्षमा हालसम्मको प्रगति विवरण पेस गरेको थियो ।प्रगति विवरणमा काठमाडौं उपत्यकाभित्र लोडसेडिङको पूर्ण अन्त्य भएको र काठमाडौंबाहिर पनि निकै कममात्र लोडसेडिङ हुने गरेको उल्लेख छ ।

मन्त्रालयले औद्योगिक क्षेत्रमा भने ‘पिक आवर’मा चार घन्टा लोडसेडिङ हुने गरेको जनाएको छ ।