Breaking News

किशोरीको वलात्कारपछि हत्या आशंकामा तीन प्रहरी पक्राउ

सुर्खेत १५ चैत्र । एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ

एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत फेला परेकी थिइन्। घटनामा संलग्नताको आशंकामा प्रहरीले एक ट्राफिक प्रहरीसहित तीन जनालाई पक्राउ गरेको छ।

डेराबाहिर लगेर किशोरीलाई बलात्कार गरिएको र हत्या गरेर कोठामा छोडिएको अनुमान प्रहरीको छ। प्रहरी जवानकै नेतृत्वमा सोमबार मध्यराति किशोरीलाई डेरादेखि टाढा चौरमा पुर्याएर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले अस्थायी ट्राफिक पोस्ट, बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। सोमबार मध्यराति साढे १२ बजे प्रहरी जवान कोइराला र स्थानीय युवक लक्ष्मी बास्तोलाले गोरीकलालाई डेराबाट मोटरसाइकलमा राखेर लगेका थिए।

इलाका प्रहरी कार्यालय, बाबियाचौरभन्दा करिब दुई सय मिटर टाढाको चौरमा लगेर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेको पाइएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। यो खबर अन्नपुर्ण पोष्टमा छ ।

shares