किम जोङ नामको मृत्यु विष प्रयोगको २० मिनेटभित्र भएको हो : मलेसिया

काठमाण्डौ, फाल्गुन १५ । मलेसियाले किम जोङ नामको मृत्युबारे नयाँ तथ्य बताएको छ ।

मलेसियाका स्वास्थ्यमन्त्रीले भने, ‘उनलाई दिइएको भि–एक्स नामको विष प्रयोगको १५ देखि २० मिनेट भित्र मृत्यु भएको हो ।’

क्वालालाम्पुर एयरपोर्टमा फेब्रुअरी १३ मा किम जोङ नाम मृत भेटिएका थिए । यो घटनासँगै उत्तर कोरिया र मलेसियाको सम्बन्ध चिसिएको थियो ।

स्वास्थ्यमन्त्री सुब्रमनियनले किम जोङ नामलाई दिइएको भि एक्सको मात्रा धेरै भएको बताए । उनले थपे,‘भि एक्सले उनको मुटुमा असर गयो, त्यसले फोक्सोमा असर गर्यो र पछि सबैतिर असर गर्यो‍‌ ।’

भि–एक्सको प्रयोगले मर्नको लागि १० मिलिग्राम पर्याप्त भएको र मेरो अनुमानमा त्यसको मात्रा बढि भएको सुब्रमनियनले बताए । यो समाचार प्रकाशमा आएसँगै उत्तर कोरियाले यसलाई कसरी लिन्छ भन्ने प्रश्नहरु उठ्न थालेको छ । एपी