कालीगण्डकी करिडोर असारभित्रै खुल्ने

काठमाण्डौ,२१ चैत्र । गैंडाकोटबाट कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक असारभित्रै खुल्ने भएको छ ।

धुसा भीर, बागखोर भीर, बेलबगर भीर, डाँडाकाल भीर र कुचुरे भीर गरी ७ किलोमिटरको अत्यन्तै अप्ठ्यारो काम सकेपछि चालू आर्थिक वर्षभित्रै ट्रयाक जोडिने भएको खबर छ ।

नेपाली सेनाले टाकुरेदेखि पालुङखोलासम्मको २३ किलोमिटर सडकको काम पनि दु्रत गतिमा गरिरहेको छ । ठाउँठाउँमा गरी करिब १६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको छ । कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्रमुखसमेत रहेका महासेनानी रेश्मीराज भट्टराईले पाँचवटा कठिन भीर फोरेपछि कालीगण्डकी करिडोरको पूरै ट्रयाक खोलिने बताए ।

संसद्को विकास समितिले नेपाली सेनाको सहकार्यमा गुल्मीको बरालवादेखि पालुङखोला हुँदै बागलुङको धुसा भीरसम्मको आइतबार स्थलगत अवलोकन गरेको थियो । भट्टराईले भने, ‘सेना दु्रत गतिमा खटिएको छ । ७ किलोमिटर मात्र बाँकी रहेकाले यसै आवमा ट्रयाक खोलिसक्ने लक्ष्यमा छौं । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।