October 17, 2017

कानुन कार्यान्वयन सरकारी कार्यक्रम बहिस्कार गर्ने मुसहर समुदायको चेतावनी

दिनेश शर्मा/राजविराज, २५ चैत्र । आफु माथि हुदै गरेको अपमान र दुर्व्यावहार परिवर्तनका लागि राज्य तर्फ कुनै ठोस निर्णय नभए अबका कुनै पनि चुनावमा भाग नलिने मुसहर समुदायका अगुवाहरुले बताएका छन् ।

मुसहर समुदायका कुलदेवता दिनाभद्रीको स्मृतिमा शुक्रबारदेखि सप्तरीको बोदे बर्साइन नगरपालिका स्थित जोगिया–जाँजरमा सुरु भएको ३ दिने दिनाभद्री मेला र जन्मोत्सव समारोहको उद्घाटनमा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले आर्थिक, समाजिक, शैक्षिक, राजनीतिक लगायत हरेक क्षेत्रमा उपेक्षाको शिकार बनाईएका मुसहर समुदायको जीवन स्तरमा सुधार तथा हालसम्म भोग्दै आएको अपमानजनक व्यवहारबाट मुक्ति नभए राज्यका हरेक कार्यक्रम बहिस्कार गरी आन्दोलन गर्ने चेतावनी दिए ।

उनले राज्य गम्भिर भएर दलितका पक्षमा बनेका कानुनी व्यवस्था कार्यान्वयन नगरे आन्दोलनका कार्यक्रम गरी गैरदलितमाथि छुवाछुतको अभियान सुरु गर्ने बताए ।