August 19, 2017

काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका सहायक हवल्दार सहित ४ पक्राउ

रमेश कुमार पाण्डे

सुर्खेत २२, चैत्र । सुर्खेतको पञ्चपुरी नगरपालिका २ सालकोटबाट सालको ८७ थान चिरान काठ सहित ४ जना पक्राउ परेका छन् ।

लामो समयको प्रयासपछि काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका सहायक हवल्दारसहित चारजना पक्राउ परेको वन कर्मचारीले बताएका छन् । उनले ठूलो मात्रामा काठसहित प्रहरी नै रंगेहात पक्राउ परेपछि तस्करको जालो ठूलै हुन सक्ने बताए ।

पक्राउ परेका सहायक हवल्दार वीरेन्द्रनग सुर्खेतमा रहेको सशस्त्र प्रहरीको महेश्वरी वाहिनीमा कार्यरत सुर्खेत लेखगाउँ घर भएका गगनबहादुर शाही रहेका छन् ।

उनको नेतृत्वमा रहेको गिरोहलाई स्थानीयको सक्रियतामा मध्यरातमा पक्राउ गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार सहायक हवल्दार शाही घरमा अत्यावश्यक काम परेको भन्दै विदामा गएका थिए ।

जिल्ला वन कार्यालय सुर्खेतले विशेष सुराकीको आधारबाट सालको चिरान काठ ८७ ना ५ ख ५५३७ नम्बरको मिनी ट्रकमा लोड गरी रहेको अवस्थामा आइतबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेखगाँउ वडा नं ५ का गगन बहादुर शाही, वीरेन्द्रनगर १ बाङ्गेसिलका ओजेस बहादुर शाही, कुनाथरी चेपाङ्ग १ का गाडी चालक नटक बहादुर घर्ति मगर, लेखगाँउ २ का सह चालक चित्र बहादुर लामिछाने रहेका छन् ।

काठ तस्कारीलाई विशेष सुराकीको आधार पक्राउ गरेको जिल्ला वन कार्यालय सुर्खेतका वन अधिकृत हेमराज बिष्टले जानकारी दिएका छन । उनले बरामद गरेको काठ २ लाख बराबरको रहेको बताए ।

जिल्ला वन अधिकृत बिष्टले पक्राउ परेको व्यक्तिलाई वन ऐन २०४९ अनुसार एक लाख भन्दा बढी जरिवना, एक वर्ष कदै वा दुवै हुन सक्ने बताएका छन ।