August 17, 2017

काठमाण्डौमा भेटिए अद्भुत क्षमता भएका अर्का ‘गुगल ब्वाय’

काठमाण्डौ २०, चैत्र । भर्खर एघार वर्ष पुगेका दर्शन सापकोटा अर्का गुगल ब्वायको रुपमा उदाएका छन् । सामान्य बालबालिका भन्दा फरक ढंगको क्षमता भएका सापकोटाको स्मरण शक्ति देख्ने जति आश्चर्यचकित हुने गरेका छन् ।

चौतारा ५ सिन्धुपाल्चोक स्थायी घर भई हाल गहना पोखरी काठमाण्डौमा बस्ने दर्शन सापकोटामा अकल्पनीय क्षमता भएर पनि संचारमाध्यमको नजरमा पर्न सकेका छैनन् । कक्षा २ मा अध्ययनरत दर्शन पढाईमा कमजोर भएर पनि दिमागी क्षमताले अन्य व्यक्तिको तुलनामा कयौं गुना तेज छन् ।

सुरुवाती तीन वर्षको स्कूल पढाईमा कखरासम्म पनि नजानेका दर्शनको अलौकिक क्षमता देखेर आश्चर्यचकित नहुने कोही छैन । स्मरण शक्ति अति नै तीक्ष्ण हुनु दर्शनको विशेषता बनेको छ । गएको र आउने तिथि, जन्ममिति वा बारलाई उनले सहजै भन्न सक्छन् ।

उनी जन्मेको अठार महिना पछि मात्र विस्तारै हिड्न थालेका थिए । त्यस्तै, विद्यालय भर्ना भएको तीन वर्षसम्म उनले एउटा अक्षरसम्म बुझ्न वा भन्न सकेका थिएनन् ।  उनको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार गराए पनि चिकित्सकले दर्शन सामान्य बच्चा जस्तो नहुनुको कारण भने दिन सकेनन् ।

दशकौं वर्ष पुराना तिथि मिति, बार, चाडपर्व, क्यालेन्डर र विशेष तथ्यांकहरुलाई सेकेन्ड समय भित्र फरर भन्न सक्ने बालक दर्शनमा विशेष क्षमता छ । दश, बीस वर्षअघिका नेपाली तिथि मिति, त्यसभित्र पर्ने चाडपर्व र विशेष घटनाक्रमहरु सबै उनी सहजै भन्न सक्छन् ।

भावी घटनाक्रम बारे कुनै भविष्यवाणी नगरे पनि दर्शनलाई दशकौ पुराना नेपाली क्यालेण्डर कण्ठै छ, । दर्शनले एक पटक क्यालेण्डर वा तिथि मितिहरुलाई हेरेपछि जुनसुकै घटनाक्रम, तिथि, जन्ममिति वा तथ्यांकलाई सहजै भन्न सक्छन् ।

दर्शनका बाबु रमेश सापकोटाले भने, ‘अत्यन्तै अद्भुत क्षमता भएको बच्चा हो । यस्तो आश्चर्यजनक ढंगको स्मरण शक्ति भएको बालक भएर पनि संचारमाध्यमको नजरबाट भने ओझेल छ ।’

दर्शनको अद्भुत क्षमतामाथि गर्व गर्ने बाबु रमेश सापकोटाले अवसर पाए छोराको अद्वितिय क्षमतालाई गिनिज बुकमा लेखाएर देशको नाम रोशन गर्ने धोको रहेको बताए ।