August 17, 2017

काठमाण्डौका ११ स्थानमा जनता स्वास्थ्य केन्द्र खोलिने

काठमाण्डौ, २६ चैत्र । सहर बजारमा रहेका स्थानीय सरकारी स्वास्थ्य संस्थाहरुबाट पर्याप्त र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसकेका बेला त्यसको परिपूर्तिका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्ने योजनामा सहमति भएको छ ।

शहरवासीलाई स्वास्थ्य परामर्श, आधारभूत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकिकृत प्याकेज पुर्‍याउने गरी काठमाण्डौमा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रवर्द्धन केन्द्र) स्थापना गर्ने याेजनामा स्वास्थ्य मन्त्रालय र काठमाण्डौ महानगरपालिकाबीच शुक्रबार सम्झौता भएको हो ।

सहरी गरिबी र नसर्ने रोगको प्रकोप बढीरहेकाले स्वास्थ्य मन्त्रालय र काठमाण्डौ महानगरपालिकाको साझेदारीमा काठमाण्डौ महानगरपालिकाका ११ वटा वडामा याे येजना सुरु हुन लागेको हो । आगामी ३ बर्षभित्रमा यो सेबालाई सबै वडामा विस्तार गरिसक्ने योजना बनाइएको छ ।

स्वास्थ्य मन्त्री गगन थापाको पहलमा निःशुल्क प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाबाट शहरी जनसंख्यालाई वञ्चित हुन नदिन जनता स्वास्थ्य केन्द्र संचालनमा ल्याउन लागिएको हो । यसमा नियमित परिक्षण, परामर्श र प्राथमिक उपचार सेवाको प्रत्याभूती शहरवासीलाई गराइनेछ ।

स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एवं कार्यकारी अधिकृत ईश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् काठमाण्डौ महानगरपालिका भित्रका चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, बालाजु र बाफलमा गरी ११ स्थानमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले चावहिल, कुलेश्वर लगायतका ६, ७ ठाउँमा भने एक हप्ता भित्रमा यो योजना सुरु गरिसक्ने बताए ।