June 28, 2017

कांग्रेस नेताहरु र मधेस केन्द्रित दलहरु बिच छलफल

२३ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेताहरुले मधेस केन्द्रित दलहरुसँग संविधान संशोधन विधेयक पारित गराउन आफू प्रतिवद्ध भएको जनाएका छन् ।

आइतबार देउवा निवासमा भएको छलफलमा कांग्रेस नेताहरुले संविधान संशोधन विधेयक पारित गर्न आफू प्रतिवद्ध रहेको भन्दै मोर्चामालाई पनि यसका लागि वातावरण बनाउन आग्रह गरेका छन् । बैठकमा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेसले चाँडो भन्दा चाँडो विधेयक पारित गर्न प्रतिवद्धता जनाएको बताए ।

मोर्चाले संसदमा टेबुल भइसकेको विधेयक पारित गर्न किन ढिलाई भइरहेको भन्दै कांग्रेससँग जिज्ञासा राखेको थियो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मधेसी मोर्चासँग पहिला संविधान संशोधन विधेयक पारित गर्ने त्यसपछि निर्वाचनको तयारीमा लाग्ने समझदारी भएको बताए ।

बैठकमा मधेस केन्द्रित दलका नेताहरुले सरकार निर्माणका लागि आफूहरुले मतदान गरेपनि नियुक्तिहरुमा वेवास्ता गरिएको गुनासो गरेका थिए । त्यस्तै मधेसी मोर्चाले मधेस आन्दोलनमा ज्यान गुमाएका अझै ५ जनालाई सहिद घोषणा गर्न बाँकी नै रहेको बताएका छन् ।