August 20, 2017

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी

काठमाण्डौ, १४ चैत्र । आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण गर्ने प्रक्रियाका बिषयमा नेपाली कांग्रेसमा छलफल सोमबार पनि जारी छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले वडा देखि महानगरपालिका सम्मका उम्मेदवारलाई टिकट दिने उपयुक्त प्रक्रियाका बिषयमा धारणा राखेका छन् ।

बैठकमा अधिकांश केन्द्रिय सदस्यहरुले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवारलाई केन्द्रबाट तथा वडा र गाउँपालिकामा भने जिल्लामा संयन्त्र बनाएर टिकट दिनुपर्ने धारणा राखेका छन् ।

आइतबारबाट सुरु केन्द्रीय समिति बैठकमा स्थानीय तहअनुसारको पार्टीको साङ्गठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्ने लगायत विषयमा छलफल जारी छ ।

यसअघि बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ ।

सोमबारको बैठकमा प्रस्तुत गरीएका प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, दीपक गिरी, बालकृष्ण खाँण, आनन्दराज ढुङ्गाना, मोहन बस्नेत, सुरेन्द्रराज पाण्डेलगायतले आफ्ना धारणा राखेका छन् ।