कांग्रेसको बैठक स्थानीय तह निर्वाचनका एजेन्डामा केन्द्रित

काठमाण्डौ, २२ चैत्र । नेपाली कांग्रेसले पूर्वसांसद र बुद्धिजीवीहरुसँग स्थानीय तह निर्वाचनका एजेन्डाबारे छलफल गरेको छ ।

कांग्रेसको निर्वाचन परिचालन कमिटीले स्थानीय निर्वाचन र कांग्रेसका एजेन्डाबारे मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वसांसद र बुद्धिजीवीहरुसँग छलफल गरेको हो ।

छलफलमा सहभागिहरुले कांग्रेसलाई जिम्मेवारीपूर्वक जनताको बीचमा प्रस्तुत हुन सुझाव दिएका थिए । उनीहरुले पार्टीलाई एकताबद्ध बनाउन पनि आग्रह गरेका थिए ।

छलफलमा कांग्रेस निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र पौडेलले कांग्रेसले मात्रै लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयन गर्नसक्ने भन्दै चुनावमा सहयोग गर्न आग्रह गरेका थिए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी पनि गरे ।