November 19, 2017

काँग्रेस र माअाेवादीले राजपालाई चुनावबाट रोकिरहेकाे कमल थापाकाे अारोप

दिनेश शर्मा, राजविराज, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तासाझेदार कांग्रेस र माओवादी नै राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागि हुनबाट रोकिरहेकाे आरोप लगाएका छन् ।

प्रदेश नं. २ मा असोज २ गते हुने तेश्रो चरणको स्थानीय तह निर्वाचनको प्रचार–प्रसारका क्रममा सोमवार राजविराज आईपुगेका थापाले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन् ।

कांग्रेस र माओवादी केन्द्र वदनियतपुर्ण रुपमा मधेश मुद्दा सम्बोधनको पक्षमा नरहेको जिकिर गर्दै उनले संविधान संशोधनको घाँस देखाएर राजपालाई अल्झाईरहने र आफनो स्वार्थ पुरा गर्ने दाउमा दुवै पार्टी लागेको बताए ।

राजपा चुनावमा नगए मधेश मुद्दाप्रति लचक भएको देखाएर मधेशी भोट तान्न सकिने लालसामा कांग्रेसले माओवादी केन्द्रसँग मिलेर षडयन्त्र गरिरहेको उनको आरोप छ ।

संविधान जारी हुनु अगाडि देखिनै आन्दोलनमा रहेका मधेश केन्द्रित दलका माग संवोधनका लागि केपी ओलीको सरकारले गरेजती प्रयास पनि प्रचण्ड र देउवा नेतृत्वको सरकारले नगरेको भन्दै उनले आफ्नो नेतृत्वमा पटक पटक भएका सहमतिलाई पनि ओलीपछिका सरकारले निरन्तरता नदिएको तर्क गरे ।

अध्यक्ष थापाले मधेश मुद्दालाई ओझेलमा पार्ने तथा संवैधानिक रुपमा प्रतिवद्ध पार्टीलाई चुनाववाट विमुख गराउने हो भने त्यसले विखण्डनकारी शक्तिलाई वल मिल्ने भन्दै ठुला दलहरुको अकर्मण्यताले नै देश विखण्डनका नारा लाग्न थालेको र प्रतिक्रियावादीहरुले सल्वलाउने मौका पाएको जिकिर गरे ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै उनले राप्रपा अहिले सरकारमा जाने सम्भावना नरहेको, बरु सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुन सक्ने संकेत गरे ।