काँग्रेसले भन्यो – ‘स्थानीय तहको निर्वाचन एक चरणमै सक्नुपर्छ’

काठमाण्डौ,२५ चैत्र । प्रधानमन्त्रीले स्थानिय तहकाे निर्वाचन दुई चरणमा गर्नु पर्ने अभिव्यक्ति दिइरहेका बेला नेपाली काँग्रेसले भने निर्वाचन एकै चरणमा गर्नु पर्ने बताएको छ ।

स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल गर्न शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्वाचन पहिलो चरणमा सम्पन्न गर्नु पर्ने बताएकाे छ।

बैठकमा अधिकांश केन्द्रीय सदस्य र सांसदले मुलुकमा निर्वाचन हुन नदिने योजनाका साथ दुई चरणमा निर्वाचन गर्ने कुरा चर्चामा ल्याइएको धारणा राखेका थिए ।

बैठकमा उपप्रधानमन्त्रीको बरियताको विषय सार्वजनिक भई चर्चामा आउँदा जनतामाझ नकारात्मक सन्देश गएको भन्दै केन्द्रीय सदस्यले पार्टीको नेतृत्व तहबाटै उक्त विवाद हल गर्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा आशंङ्का नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्दै एकढिक्का भएर निर्वाचनमा होमिन निर्देशन  दिएका थिए ।
बैठकमा सरकारका कामकारबाहीका बारेमा टीकाटिप्पणी हुनुका साथै जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको आलोचना समेत भएको थियो ।
पार्टीले बैठकमा उठेका सबै सुझाव घोषणापत्र तयारी समितिमा पठाउने र तराई–मधेसका मागलाई सम्बोधन गर्न अधिकतम सहमतिका साथ संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

पार्टीले सबैका राय सुझाव सहित स्थानीय मुद्दा र आवश्यकता समेटिने तर संक्षिप्त घोषणापत्र आगामी वैशाख पहिलो साताभित्र तयार हुने जनाएको छ ।