July 26, 2017

कलाकारहरुलाई पनि देशको समृद्धिमा जुटन डा. बाबुराम भट्टराईको आग्रह

काठमाण्डौ २२ फाल्गुन ।  नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कलाकारहरु देशको विकास र समृद्धिका सहयात्री भएकोले कलाकारहरुलाई कलाकारिताको माध्यमबाट समृद्धिमा जुट्न आग्रह गरेका छन ।
आइतबार राजधानीमा नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग एवं समृद्धि सांस्कृतिक अभियानले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा डा. भट्टराईले  ‘कलाकारले मानिसमा रहेको सौन्दर्य चेतलाई उजागर गर्ने भएकाले कलाकार देशको समृद्धिका लागि अभिन्न अंग भएको बताए ।

देशको आर्थिक विकास र समृद्धिको साथसाथै समावेशिताको मुद्दालाई पनि सहि ढंगबाट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संयोजक भट्टराईले सबै जातीय र भाषिक समुदायहरुको संस्कार र संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा सम्मान र प्रवद्र्धनमा कलाकारहरुलाई महत्वपूर्ण भूमिका निर्वाह गर्नसमेत आग्रह गरे ।
कार्यक्रममा नयाँ शक्तिका सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धारले पारम्परिक राजनीतिमा कलाकारहरुलाई गहनाको रुपमा मात्र सजाउने गरिएकोमा असन्तुष्टि जनाउँदै कलाकारिता क्षेत्रलाई पनि राजनीतिमा समान स्थान दिइनुपर्ने बताइन  ।
कलाकार प्रज्ज्वल गिरीले नयाँ शक्तिले लिएको आर्थिक विकास र समृद्धिप्रति ऐक्यबद्धता जनाउँदै देशको समृद्धिको चाहना पूरा गर्न आफूहरु पार्टीमा एकताबद्ध भएको जनाउनुभयो ।
कार्यक्रममा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, प्रवक्ता खिमलाल देवकोटा, प्रवास संयोजक नवराज सुवेदी, आंगिक संगठन प्रमुख कुमार पौडेल, ४ नं. प्रदेश संयोजक बलावती शर्मा, १ नं. प्रदेश संयोजक पासाङ शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।