कर्मचारीले ढिलासुस्ती गरेकाे भन्दै झापा मालपोत कार्यालयमा तोडफोड

झापा ८ फाल्गुन । कर्मचारीले सेवा प्रदानमा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले मंगलबार दिउँसो जिल्ला मालपोत कार्यालय झापा परिसरभित्र तोडफोड गरेका छन् ।

कामकाजमा कर्मचारीले घण्टौ समय लगाउन थालेपछि आक्रोसित बनेका सेवाग्राहीले कार्यालयभित्र रहेका डेक्स र बेन्च तोडफोड गरेका हुन् । सेवाग्राहीले कार्यालयभित्र तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय झापाले तत्काल प्रहरी पठाएको थियो । प्रहरी घटनास्थल पुगेपछि आक्रोसित बनेका सेवाग्राहीको भीड नियन्त्रणमा आएको थियो ।

घटना विवरण अनुसार मालपोत कार्यालयले यही फागुन ६ गतेदेखि मालपोतको सबै कामकाज अनलाइन प्रविधिबाट सेवा सुरु गरेको छ । सेवाग्राहीलाई जानकारी बिनै मालपोतले एक्कासी अनलाइन सेवा सूरु गरेपछि कार्यालयको दैनिक कामकाजमा प्रभावित बनेको छ । अनलाइनका लागि दक्ष कर्मचारी नहुदाँ पूराना कर्मचारीले कम्प्यूटरबाट छिटोछरितो सेवा दिन नसक्दा सेवाग्राहीहरु फागुन ६ गतेदेखि कार्यालयमा धाउन बाध्य बनेका छन् । विहान ११ बजेदेखि कार्यालयमा आएका सेवाग्राही बेलुका ५ बजे सम्म कार्यालय परिसर भित्रै घुमफिर गरी काम नसकेर घर फर्किन बाध्य बनेका छन् ।

आइतबारदेखि जग्गा पास गराउन कार्यालय धाएपनि अहिले सम्म आफ्नो काम नभएको अर्जुनधाराका सेवाग्राही विजेशकुमार साहले बताए । ‘कार्यालयले अनलाइन सेवाको नाममा सेवाग्राहीलाई सास्ती दिदै आएको छ, उनले भने, ‘दक्ष कर्मचारी नराख्दा हामी मारमा परेका छौ ।’ तालिम बिनै हचुवाको भरमा दक्ष कर्मचारी नराखी कम्प्युटरबाट अनलाइन सेवा सूरु गर्दा सेवाग्राही घण्टौ लाइनमा बस्नु पर्ने मेचीनगरका सेवाग्राही होमप्रकाश आचार्यले गुनासो पोखेका छन् । ‘एक घण्टा हुने काम दिनभर लाग्दा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ, उनले भने ।

भूमि सुधार तथा व्यवस्थापन विभागबाट डिजीसहित आएको कर्मचारीको टोलीले अनलाइन सेवाको उद्घाटन गरेका थिए । जिल्ला मालपोतल कार्यालयले अनलाइन सेवा सूरु गर्दा सेवाग्राही, राजनीतिकदल तथा सञ्चारकर्मीलाई कुनै जानकारी नदिई गोप्य रुपमा सेवाको उदघाटन गरेका थिए ।

माघ २७ गतेदेखि मालपोतका कर्मचारीलाई तालिम दिएर सेवा प्रदान गरिएको मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत रोशनशंकर घिमिरेले बताए । अनलाइन सेवा सूरु हुदाँ कार्यालयको कामकाजमा केही ढिलासुस्ती भएको स्वीकार्दै उनले भने, “फोटो, हस्ताक्षर र औठा छाप कम्प्युटरमा राख्नुपर्ने हुन्छ, नयाँ प्रविधिका कारण कर्मचारीको कम्प्युटरमा हात नबस्दा पहिलाको तुलनामा जग्गा सम्बन्धी काम कम भएको हो ।” सेवाग्राहीको पीडालाई मध्यनजर गर्दै केही दक्ष जनशक्ति थपी चाडो भन्दा चाडो छिटोछरितो सेवा प्रदान गर्न आफू लागि परेको उनले बताए ।