August 19, 2017

कर्णाली सातौ जलविद्युत आयोजना कर्मचारीहरुको लगानीमाः उर्जामन्त्री

कर्णाली सातौ जलविद्युत आयोजना कर्मचारीहरुको लगानीमाः उर्जामन्त्री

काठमाण्डौ, ४ चैत्र । सरकारले ३ सय ३० मेगावाटको कर्णाली सातौ जलविद्युत आयोजना कर्मचारीहरुको लगानीमा बनाउने भएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले कर्णाली सातौ लाई कर्मचारी र सञ्चय कोषको लगानीमा बनाउने घोषणा गरेका हुन् ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका अवसरमा सिँचाई विभागमा शुक्रबार भएको कार्यक्रममा उनले कर्णाली सातौँमा कर्मचारीले मात्र लगानी गर्ने बताए ।आयोजना निर्माणको टुंगो लगाउन ऊर्जा सचिवलाई जिम्मा दिइसकिएको ऊर्जामन्त्री शर्माले बताए ।

जलविद्युतको क्षेत्रमा जनताको स्वामित्व स्थापित गर्नका लागि आफूहरुले योजना बनाइरहेको भन्दै उनले प्रकृतिले जटिल पहाडी भूगोल दिएर ठगेपनि त्यसलाई नेपाली जनताले आफ्नो अनुकुलमा ढाल्न सक्ने दाबी पनि गरे ।

अहिले नदी नियन्त्रण नहुँदा नेपालसहित भारतको लाखौँ हेक्टर जमिन बगाइरहेको बताउँदै उनले तल्लो तटीय फाइदाको कुरालाई सदुपयोग गर्दै ठूला नदीलाई जलाशयमा परिणत गर्नुपर्नेमा जोड दिए ।