October 20, 2017

करिब दुई सय क्याम्पसमा आज स्ववियू निर्वाचन हुदै, ६० प्रतिशत क्याम्पसमा विवाद कायमै

 

काठमाण्डौ, १८ फाल्गुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दुई सय भन्दा बढी क्याम्पसमा आज निर्वाचन भैरहेको छ ।

आगिंक दुई दर्जन र सम्बन्धन प्राप्त दुई सय भन्दा बढी क्याम्पसमा निर्वाचन भैरहेको हो ।

काठमाडौं उपत्यकाका ५ ओटा क्याम्पसमा मात्र चुनाव भईरहेको छ । सानोठिमी क्याम्पस भक्तपुर, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, काठमाडौं नर्सिङ क्याम्पसमा मतदान भइरहेको छ ।

विद्यार्थी संगठनहरुकै विवादका कारण जम्मा ४० प्रतिशत कलेजमा मात्र निर्वाचन भइरहेको छ । तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन भएकाले ती क्याम्पसमा मात्र आज मतदान हुदैछ । जसअनुसार ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिक र बाँकी सम्बन्धन प्राप्त क्याम्पसमा मतदान हुनेछ ।

सत्तारूढ कांग्रेसनिकट नेविसंघ र प्रतिपक्षी एमाले निकट अनेरास्ववियु तथा मधेसी विद्यार्थी संगठनलगायतले विभिन्न कलेजमा तालाबन्दी गरेकाले ६० प्रतिशत क्याम्पसमा चुनाव नहुने भएको हो ।

मूख्य गरी ठूला मानिएका राजधानीको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, शंकरदेव, नेपाल कमर्श, पाटन संयुक्त, महेन्द्ररत्न ताहाचल, अमृत साइन्स, सरस्वतीलगायत क्याम्पसमा तालाबन्दी गरिएको छ । त्रिविअन्तर्गत ६० आंगिक र सम्बन्धनका एक हजार ८४ क्याम्पस छन् ।