August 23, 2017

कम्बोडियामा मानव दूध निर्यात गर्न प्रतिबन्ध

काठमाण्डौ, १६ चैत्र । केही कम्बोडियन आमाहरुले अमेरिकी महिलाहरुलाई आफ्नो स्तनको दूध बेच्ने विवादास्पद कार्यमाथि प्रतिबन्ध लाग्ने भएको छ ।

तर यो निर्णयले महिलालाई शोषण गरिएको वा उनीहरुको अधिकारमाथि अंकुश लगाउन खोजिएको हो भनेर दुई खालका बहश सुरु भएको छ ।

बितेका दुई वर्षमा दर्जनौं कम्बोडियन महिलाहरुले अमेरिकी कम्पनी ‘एम्ब्रोसिया ल्याबस्’ मार्फत आफ्नो स्तनको दूध बेच्ने गरेका थिए ।

उक्त कम्पनीले त्यसरी आयातित गरिएको दूधलाई प्रशोधन गरेर अमेरिकामा बेच्ने गरेको छ । ती दूधहरु यस्ता आमाहरुलाई बेचिन्थ्यो जसलाई आफ्नो बच्चाका लागि दूध उत्पादन गर्न समस्या हुन्थ्यो ।

कम्बोडियन सरकारले विज्ञप्ति जारी गर्दै भन्यो, ‘हो हामी गरिब छौं तर यतिसम्म गरिब छैनौं कि हामीले बाँच्नकै लागि मानव स्तनको दूध बेच्नुपर्छ ।’