April 24, 2017

कपिलवस्तुमा यो बर्ष गहुँको उत्पादन बृद्धि हुने अनुमान

खग प्रसाद चापागाई /कपिलवस्तु, ३१ चैत्र । अन्नको भण्डारका रुपमा परिचित कपिलवस्तुमा जिल्ला यस बर्ष गहँु उत्पादनमा भारी बृद्धि हुने संकेत देखिएको छ ।
पश्चिमाञ्चलमै गहुँ उत्पादनमा दोस्रो जिल्लामा पर्ने कपिलवस्तुमा क्षेत्रफल बिस्तार, अनुकुल मौसम, रोगकिराको प्रकोप नलाग्नु र मलखादको पर्याप्त आपुर्तिले यस बर्ष जिल्लामा १५ देखि २० प्रतिशतको हाराहारीमा गत बर्ष भन्दा उत्पादनमा बृद्धि हुने कृषि कार्यालयले अनुमान गरेको हो ।
समयानुकुल बर्षाका कारण जमिनमा चिस्यान भएका कारण गहुँ उत्पादन बढने भए पछि कृषकहरु उत्साहीत बनेका छन् ।
यस बर्ष अघिल्लो बर्षको तुलनामा गहुँ उत्पादन बृद्धि हुने सम्भावना देखिएको सौराहाका रामकिशोर तेलीले बताए । गत बर्ष भन्दा गहुको क्षेत्रफल १० प्रतिशत बढि बढनु तथा मौसमले समेत साथ दिएकाले १५ देखि २० प्रतिशतको हाराहारीमो गहुको उत्पादनमा बृद्धि आउने जिल्ला कृषि कार्यालय कपिलवस्तुका प्रमुख बरिष्ठ कृषी विकास अधिकृत राकेश कुमार ओझाले जानकारी दिए ।
यस बर्ष जिल्लामा ३० हजार १ सय २१ हेक्टरमा गहुँ खेती गरिएकोमा ९६ हजार ८ सय ८३ मेट्रिक टन गहुँको उत्पादन हुने अनुमान गरिएको छ । अघिल्ला दुई बर्षमा जिल्लामा २७ हजार ९ सय २७ हेक्टर जग्गाको क्षेत्रफलमा गहुँ लगाईएकोमा ८४ हजार ४ सय ५१ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । कार्यालयले कृषकका लागी यस बर्ष बिजय, भृकुटी, एनएल, गौतम र ९७१ जातको गहुँ सिफरिस गरेको भए पनि कृषकले बिल एल १०००/२२, युपी २६२, आदित्य, एनएल २५१ लगायतका जातका गहुँ लगाएका छन । जिल्लामा मुस्किलले ४२ प्रतिशत अर्थात ३४ हजार ९४२ हेक्टर खेतीयोग्य जग्गामा सिंचाई सुविधा पुगेकोछ । त्यो पनि १२ मास छैन् । जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि ८१ हजार ५७६ हेक्टरमा खेती हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *