October 17, 2017

कञ्चनपुर झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल भेटियो

कञ्चनपुर, ९ चैत्र । १४ दिनअघि आनन्द बजारमा भएको झडपका क्रममा हराएको नेपाल प्रहरीको पेस्तोल र त्यसको म्यागजिन भेटिएको छ ।

कल्भर्ट निर्माणका विषयलाई लिएर नेपाली र भारतीय सुरक्षाकर्मीबीच गत फागुन २६ गते कञ्चनपुर, पुनर्वास–८ आनन्द बजारमा झडप भएको थियो ।

स्थिति सामान्य बनाउन खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक माधव भट्टसँग रहेको एक थान चिनियाँ पेस्तोल त्यसमा लाग्ने गोली सात राउन्ड सीमा क्षेत्रमा हराएका थिए ।

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा खटिएको प्रहरी टोलीले केही दिनअघि पेस्तोल फेला पारेको हो ।

झडपपछि असहज बनेको नेपाल–भारत आवागमन अझै सहज हुन सकेको छैन । घटनापछि नेपालीले भारतीय सीमावर्ती बसही बजारमा किनमेलमा जान समेत छाडेका छन् ।

हाल आनन्द बजारमा सशस्त्र प्रहरीको अस्थायी चौकी खडा गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।