कञ्चनपुर घटनाको विरोधमा फाल्गुन २८ गते नेकपाको नेपाल बन्द आव्हान

काठमाण्डौ २७ फाल्गुन ।  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा भारतीय सुरक्षाकर्मीले मच्चाएको हत्या आतंकको विरोध गर्दै  फाल्गुन २८ गते नेपाल बन्दको आव्हान गरेको छ ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दे पार्टीका प्रवक्ता प्रकाण्डले भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरे र एक्कासी गोली हानेर नेपाली नागरिक गोविन्द गौतमको निर्ममतापूर्वक हत्या गरिएको उल्लेख गर्दै आन्दोलनको घोषणा गरेका हुन । उनले हत्यामा सम्लग्न भारतीय एसएसवी र नेपाल प्रहरीका अधिकारीहरुलाई कडा कारवाही गर्नु पर्ने बताए ।

हत्यामा सम्लग्नहरुलाई कारवाही नगरिएमा त्यसका विरुद्ध पार्टीले कडा आन्दोलन गर्ने प्रकाण्डले चेतावनी दिए । नेपालमाथि भारतले विभिन्न रुपमा हस्तक्षेप गर्दै आएको सन्दर्भ उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दुतावास रहन नसक्ने अवस्था आउने बताए ।
पार्टीले कञ्चनपुर घटनाका विरुद्धमा शुक्रबार दिउसो १ बजे देशभर विरोध प्रदर्शन समेत गरेको छ । नेपालमाथि भारतको हस्तक्षेपको श्रृङ्खला हत्याको स्तरसम्म पुग्दा पनि नेपाल सरकारले कुनै पहल नचालेको भन्दै प्रवक्ता प्रकाण्डले आक्रोश व्यक्त गरे ।