October 23, 2017

कञ्चनजङ्घामा सिकार गर्न अनुमति दिने सरकारी तयारी

काठमाडौँ, चैत्र १२ गते । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ।

संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका हुन् । उनीहरूले त्यसबाट हुने आम्दानी संरक्षणका थप कार्यक्रम सञ्चालनका लागि दिनसमेत माग गरेका छन् ।कञ्चनजङ्जा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले नाउरको सङ्ख्या वृद्धि भएकाले सिकार क्षेत्रको रूपमा घोषणा गर्न सरकारसँग माग गरेको बताउनुभयो । यहाँ गत वर्षको गणनामा नाउरको सङ्ख्या दुई हजारभन्दा बढी रेकर्ड गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले स्थानीयवासीको माग स्वाभाविक देखिएको बताउँदै त्यसका लागि विभागले आवश्यक प्रक्रिया सुरु गरेको बताउनुभयो ।

संरक्षण प्रभावकारी भएपछि हरेक वर्ष दुईदेखि चार सयको हाराहारीमा नाउरको सङ्ख्या वृद्धि भइरहेको उहाँले बताउनुभयो । आईयूसीएनको दिगो नाउर सिकार निर्देशिका १९९७ मा कुनै निश्चित क्षेत्रभित्र कुल सङ्ख्याको बढीमा चार प्रतिशतसम्म नाउन सिकार गर्न सकिने उल्लेख गरिएको खवर आजको गोरखापत्र दैनिकमा छ ।