August 21, 2017

ऐतिहसिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु

भक्तपुर, २८ चैत्र । नयाँ वर्षको आगमनसंँगै सुरु हुने प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।

पाँचतल्ले मन्दिर अगाडि राखिएको भैरवनाथको रथलाई तानेर बिस्केट जात्रा औपचारिक सुरु गरिएको हो । गःहिती टोलमा राखिएको भैरवनाथको रथलाई तल्लो र माथिल्लो टोलका स्थानीयले तानातान गर्ने प्रचलन छ । टोल–टोलबीचमा प्रतिष्ठाको लागि रथलाई आ–आफ्नो पक्षमा राख्ने होडबाजी चल्ने गर्दछ । नयाँ वर्षको चार दिन अगाडिबाट सुरु भई नयाँ वर्षको पाँच दिन गरि आठ रात नौ दिनसम्म चल्ने गर्दछ ।

जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । रथ तान्ने क्रममा झडप हुने, ढुङ्गा हानाहान हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको र चोकचोकमा सिसीटिभी क्यामरासमेत जडान गरिएको छ ।

विक्रम संवत अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ ।

यसपछि चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यो जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।