August 23, 2017

एसोसिएसन् अफ नेपाली ईन मिनेसोटाले दियो धुर्मुस सुन्तली फाउण्डेशनलाई २ करोड

काठमाण्डौ, २१ चैत्र । अमेरिकाको मिनेसोटा राज्यामा रहेको नेपालीहरुको संस्था एसोसिएसन् अफ नेपाली ईन मिनेसोटाले धुर्मुस सुन्तली फाउण्डेशनलाई २ करोड १० लाख सहयोग गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरणको १० दिन बाँकि रहदा उक्त सहयोग रकम उपलब्ध भएको हो ।

धुर्मुस सुन्तलीले बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस भन्दै भुकम्प पिडितहरुलाई सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपाली ईन मिनेसोटाले उक्त सहयोग रकम फाउण्डेशनलाई प्रदान गरेको हो ।

सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आएका एसोसिएसनका बोर्ड सदस्य अनिल रायमाझी र स्विटी सिंह श्रेष्ठले निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

एसोसिएसनले अमेरिकाको मिनेसोटा राज्यमा रहेका नेपालीहरुबाट भुकम्प पछाडी सङ्कलन गरेको सहयोग रकम बिभिन्न संस्थालाई प्रदान गर्दै आएको छ । संस्थाले फाउण्डेशनलाई दिएको सहयोगमा अनुमानीत २५ लाख बरावरको १९ सय जस्तापाता भने गोरखाको कुसुण्डे भन्ने गाउँलाई दिनुपर्ने बताएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले परियोजना पूराहुन १० दिन बाँकि हुदा आएको उक्त सहयोगले रकमले आफुहरुलाई हौसला मिलेको बताउदै उनले भने ‘अब ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौँ ।’

५० वटा घर बनाउने भनिए पनि अहिले ५३ वटा घर बनेको बताउदै अध्यक्ष कट्टेलले बैशाख १ गते बस्ती हस्तान्तरण समारोहमा उपस्थितीको लागि समेत आग्रह गरेका छन् ।

एसोसिएसन अफ नेपाली ईन मिनेसोटा सन् २००३ मा अमेरिकाको मिनेसोटा राज्यमा बसोवास गर्ने नेपालीहरुको समुहले नेपाली कला र संस्कृतिलाई जोगाउनका लागि स्थापना गरेको संस्था हो ।