एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, भोलिबाट परीक्षा सुरु

काठमाण्डौ, २ चैत्र । परीक्षा नियन्त्रण कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

रफत सञ्चार क्लबमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनले माध्यमिक शिक्षा परिषद् (एसईर्ई) परीक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परीक्षा पनि लेटर ग्रेडिङ प्रणलीमा हुने बताए ।

भोलिबाट हुने माध्यमिक परीक्षा परिषद्को परीक्षामा देशभर १९ सय २३ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लामा परीक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परीक्षा केन्द्र तय गरिएको परीक्षा नियन्त्रक रेग्मीले बताए । काठमाण्डौमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र रहेको छ ।

परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी सामेल रहेको बताउँदै देशभर १ हजार ९ सय २३ परिक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटाइएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएकाे छ । परीक्षा भोली बिहीबारबाट सुरु भई चैत्र १४ गतेसम्म चल्नेछ ।

सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो ।