August 23, 2017

एमाले स्थानीय निर्वाचन भाँड्न उद्दत : शेरबहादुर देउवा

पाण्डव शर्मा/ दाङ २८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले मधेसमा बितन्डा मच्चाएर स्थानीय तहको निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन् ।

‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले तुलसीपुरमा आयोजना गरेको प्रदेश स्तरीय चुनावी सभालाई आज संवोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३१ मै गर्नुपर्ने बताए ।

एमालेले मधेसी र पहाडी बीचको परम्परागत सद्भावलाई बिगारेको आरोप लगाउँदै देउवाले काँग्रेसले सद्भाव कायमका लागि अभियान तीव्र पारेको बताए । उनले एमालेको उग्र राष्ट्रवादका कारण मुलुकले लामो आन्दोलन पछि प्राप्त गरेको उपलब्धी गुम्न सक्ने खतरा देखिएको बताए ।

स्थानीय निर्वाचनमा मधेसी दलहरुको पनि सहभागिता रहने देउवाले दाबी गरे ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला लगायत नेताहरुले मन्तव्य दिएका थिए । सभामा सहभागी हुन ५ नम्बर प्रदेशका १० जिल्लाबाट कार्यकर्ताहरु दाङ आएका थिए ।