August 19, 2017

एमाले र मोर्चालाई मनाउन नयाँ संशोधन प्रस्ताव

काठमाण्डौ,२७ चैत्र । सरकारले एमाले र मधेसी मोर्चा दुवैसँग समन्वय गरी संविधान संशोधन विधेयकको नयाँ मस्यौदालाई अन्तिम रूप दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् बैठक राखेर त्यसलाई अघि बढाउने तयारी गरेका छन । दाहालले कानुनमन्त्री अजयशंकर नायक र केही कानुनविज्ञलाई मस्यौदा तयार पार्ने जिम्मेवारी दिएका थिए ।

उनले प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चा दुवै पक्षसँग आन्तरिक कुराकानी गरी मस्यौदा तयार पारेको भन्दै अब यसमा राष्ट्रिय सहमति बन्ने दाबी गरे । शनिबार नै मैले अर्को नयाँ संविधान संशोधन विधेयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेसी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग पनि गरेको छलफलमा आधारित छ । शनिबार रिपोर्टर्स क्लबको १९ औं वार्षिकोत्सवमा दाहालले भने, ‘त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ ।

देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरूले यसलाई समर्थन गर्नेमा म विश्वस्त छु । दाहालले मधेसी मोर्चासहित असन्तुष्ट सबै पक्षलाई अब चुनावी माहोलमा सँगै लिएर जाने भन्दै विधेयक त्यसैका लागि संसदबाट फिर्ता लिन लागिएको, सट्टामा अर्को सहमतिको विधेयक लैजान आँटेको तर्क गरे। प्रतिपक्षी एमाले र मोर्चा दुवैले आफूहरूसँग प्रधानमन्त्री वा सरकारी पक्षबाट हालसम्म विधेयकबारे समन्वय नगरिएको दाबी गरेका छन ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कुराकानीका क्रममा संशोधन विधेयकको ‘कन्टेन्ट’को प्रसंग हालसम्म नउठेको बताए । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकबारे सरकारले आफूहरूसँग अहिलेसम्म कुनै समन्वय नगरेको बताए । ‘उहाँहरूले त्यसरी समन्वय गर्नुभएको थाहा भएन, नयाँ विधेयक आयो भने त्यसको ‘कन्टेन्ट’ हेरेपछि मात्रै प्रतिक्रिया दिन सकिन्छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।