June 24, 2017

एमाले नेता रामेश्वर फुयाँलले मागे गृहमन्त्रीको राजिनामा

काठमाण्डौ, २३ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर फुयाँलले गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा माँग गरेका छन् ।

फुयाँलले गृहमन्त्रीको कुर्सी सिँगो नेपालको कुर्सी भएकोले त्यो कुर्सीमा बसेर असुरक्षा भड्काउने काम गरेको आरोप लगाउँदै तत्काल राजिनामा दिनुपर्ने माँग गरेका हुन् । मन्त्री निधिले एमालेलाई मधेशबाट लखेट भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै निधिको उक्त भनाईप्रति आफूहरुको गम्भिर आपत्ति रहेको बताए ।

उनले यसबारेमा सदनमा समेत आफ्नो पार्टीले कुरा उठाउने स्पष्ट पारे । फुयाँलले भने,‘यो मुद्दा सिँगो पार्टीको मुद्दा हो ।’

उनले आफ्नो पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको बताउँदै उक्त अभियान संविधान कार्यान्वयनको लागि भएको स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचन र संविधान संशोधनबिच कुनै साईनो–सम्बन्ध नै नरहेको जिकिर गरे ।

उनले आफ्नो पार्टीले अभियान चलाउनु भनेको संविधानको मौलिक हकको प्रयोग गरेको बताए । उनले भने, ‘मधेशमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनैपनि भुभागमा आवतजावत गर्न पाउँछ, सभाको आयोजना गर्न पाउँछ ।’

उनले पूर्ण लोकतन्त्रको रेल एमालेले दौडाएको बताउँदै अभियान देशभर दौडाउने बताए । उनले थपे,‘हामी देशभरि आमसभा गर्छौ मधेशमा लाखौं लाख जनताहरु अभियानमा होमिनुहुन्छ ।’

मधेशी मोर्चाले त एमालेलाई मधेशमा प्रवेश गर्न नदिने भनेर उद्धघोष गरिसकेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा फुयाँलले भने, ‘बाघले बन देखेको छ, एमाले बाघ हो, त्यसैले बाघले बन देखेको छ ।’