July 26, 2017

एमाले नेताहरुले भने ‘चुनाव सार्न वा स्थगन पाईदैन’

काठमाण्डौ, २५ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सप्तरी घटनाबारे छानबिन गर्न माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका साथै बैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।

एमालेभन्दा केही अघि मात्र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधन गर्न र चुनाव स्थगित गर्न माग गर्दै सातदिने अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाले सातदिने अल्टिमेटम दिएर गएको एमाले नेताहरुलाई जानकारी दिए । साथै उनले सबै दलले छलफल गरेर अघि बढ्नु पर्नेबताएका छन् ।

‘एमाले नेताहरुले चुनाव यताउता गर्न पाइँदैन भनेका छन्, भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले पनि चुनाव हुन्छ भन्नु भएको छ ।’

यसैबीच प्रधानमन्त्री प्रचण्डले एमालेलाई मेची–महाकाली महाभियानबारे पुनर्विचार गर्न सुझाव दिएका छन । एमालेले गर्छौं भन्यो भने सरकारले सुरक्षा दिने भन्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर २/४ दिन रोक्दा उपयुक्त हुने बताए ।

फाल्गुन २१ गतेदेखि झापाबाट सुरु भएको एमाले मेची–महाकाली अभियान सप्तरी घटनापछि तीन दिका लागि भएको थियो । बिहीबारबाट हेटौंडादेखि अभियान पुनः सुरु हुँदैछ ।