एमाले केन्द्रिय कमिटीमा मधेसी र थारु गरी २१ जना केन्द्रिय सदस्य मनोनित

काठमाण्डौ २१ फाल्गुन ।  नेकपा एमालेले केन्द्रीय कमिटीको विस्तार गरेको छ । एमाले सचिव तथा प्रचार विभाग प्ररमुख योगेश भट्टराईका अनुसार झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले २१ जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको  छ ।

मेची-महाकाली अभियानकाक्रममा झापाको बिर्तामोडमा भेला भएका केन्द्रिय नेताहरुबीच बसेको स्थायी कमिटीको बैठकले १२ जना पूर्ण केन्द्रिय सदस्य र ९ जना बैकल्पिक केन्द्रिय सदस्य मनोनयन गरेको हो ।

१ सय ८५ केन्द्रिय सदस्य रहेको केन्द्रिय कमिटीमा मधेसी र थारु नेताहरुको सँख्या १७ मात्र थियो । अब यो सँख्या ३८ पुगेको छ ।

केन्द्रिय सदस्यमा मनोनयन हुनेमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् । त्यसैगरी बैठकले ९ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरेको छ ।

वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून छन ।

बैठकले कैलालीका हनुमान चौधरीलाई केन्द्रीय सल्लाहकार परिषद सदस्यमा र  मायाराम चौधरीलाई  सात नम्बर प्रदेशकाे सँगठन समिति सदस्यमा मनोनयन गरेको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।