August 23, 2017

एमालेले भन्यो- ‘स्थानिय निर्वाचनमा ५० प्रतिशत स्थानमा जित्छौ’

काठमाण्डौ, ६ वैशाख । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा ५० प्रतिशतभन्दा बढि तह जित्ने दाबी गरेको छ ।

एमाले पार्टी मुख्यालयमा बुधबार घोषणापत्रमा बौद्धिक समुदायको सुझाव माग्न आयोजित कार्यक्रममा एमाले नेताहरूले त्यस्तो दाबी गरेका हुन् । त्यस्तै प्रदेश र संघमा पनि सुविधाजनक बहुमत ल्याउने दाबी एमालेको छ ।

संविधान जारी गर्न एमालेले खेलेको भूमिका, संविधान कार्यान्वयनका लागि एमालेको दबाब नै एमालेको जितको आधार भएको उनीहरूले बताएका हुन् । कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेलले निर्वाचन सकेसम्म टार्ने र नसके सार्ने खेल भइरहेको बताउँदै त्यसतर्फ सचेत रहन आग्रह गरे ।

त्यस्तै सचिव प्रदीप ज्ञवालीले एमालेले ७४४ स्थानीय तहमध्ये ५० प्रतिशत जित्ने दाबी गर्दै एमाले महत्वाकांक्षी योजनाका साथ निर्वाचनमा होमिएको बताए । ज्ञवालीका अनुसार एमालेले घोषणापत्रमा समृद्धिको पाँच आधार तय गरेको छ ।

कृषिको आधुनिकीकरण, ऊर्जा विकास, मानव स्रोत साधन परिचालन, रोड रेलवेको पूर्वाधार निर्माण र पर्यटनको विकास नै समृद्धिको आधारस्तम्भ भएको एमालेले जनाएको छ । उक्त योजनामाथि एमालेसम्बद्ध बुद्धिजीवीहरूले विचार–विमर्श गरेका थिए ।