एमालेले भन्यो ‘सप्तरीमा शीर्ष नेताको सामुहिक हत्या गर्ने प्रयास भयो ‘

काठमाण्डौ, २४ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सप्तरीमा आफ्ना पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको छ ।

सोमबार सप्तरीमा झडप भएर तीन जना प्रदर्शन कारीको मृत्यु भए पछि एमालेले आफ्नो मोची–महाकाली अभियान ३ दिनका लागि स्थगित गरेको छ ।

कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले नेताहरुले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन ।

एमाले महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा सप्तरीको राजविराजमा आमसभा सकेर राजमार्ग तर्फ जाने बेला घेरा हालेर एमाले नेताहरुको सामूहिक हत्या गर्ने प्रयास गरिएकाे भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘मेची–महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला–बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले शंका उब्जाएको बताएको छ ।’ यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने भनि उल्लेख गरीको छ ।

एमालेले राजविराज घटनाको निश्पक्ष छानबिन गर्न मानवअधिकार आयोगसमक्ष माग गरेको छ । विज्ञप्तिमा तीन जनाको ज्यान जाने गरी भएको सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनु पर्ने समेत उल्लेख छ ।