एमालेको मेची महाकाली अभियान बिथोल्ने मेधेसी मोर्चाको निर्णय,सप्तरीमा सुरक्षा व्यवस्था कडा

 

दिनेश शर्मा

राजविराज, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिवार झापावाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका कार्यक्रमलाई सप्तरीमा विथोल्ने मधेसी मोर्चाको निर्णय पछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमालेको अभियान कुनै पनि हालतमा सम्पन्न हुन नदिने र एमाले अध्यक्ष केपी ओलीलाई सप्तरी प्रवेश गर्न नदिने संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाको अडानसँगै त्यसै अनुरुपका गतिविधि समेत सुरु भएपछि सुरक्षा अवस्था कडा पारिएको हो । अभियान अन्तर्गत सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शिर्ष नेताहरु सप्तरी प्रवेश गर्नेछन् ।

अभियानमा टोलीलाई अवरोध गर्ने र कार्यक्रम विथोल्ने मधेशी मोर्चाले निर्णय गरेपछि राजविराज र आसपासका क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ ।

मोर्चाले एमालेको अभियानलाई विथोल्न सोमबार चक्काजाम, प्रमुख वजारमा मसाल र लाठि जुलुस तथा विरोध सभा लगायतका कार्यक्रम घोषणा गरिसकेको छ ।

यसैगरी अभियान विथोल्नकै लागि जनसहभागिता वढाउन गाउँ–गाउँमा माईकिङ्ग र पर्चा वितरण समेत भईरहेका छन् । मोर्चाले एमाले अभियानको प्रतिकार गर्ने निर्णय गरेको मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले बताएका छन् । एमाले अध्यक्ष ओलीले विभिन्न समयमा दिएको मधेश विरोधी अभिब्यक्ति र अडानका कारण मधेशका जनता स्वतस्फुर्तमा रुपमा प्रतिकारमा उत्रने उनले दावी गरेका छन् ।

अर्कोतर्फ, अभियानलाई सफल वनाउन एमालेले समेत घरदैलो र पर्चा वितरण कार्यलाई निरन्तरता दिएको छ भने अभियान सफलताका लागि केन्द्रदेखि गाउँसम्का नेता–कार्यकर्ता  खटिरहेका छन् ।

सोहि क्रममा शुक्रवार मोर्चाका कार्यकर्ताले एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दल्नुका साथै एमाले सांसद रञ्जु झा ठाकुर चढेको बा १ ज ८४८९ नम्वरको गाडिमा ढुङ्गामुढा समेत गरेका थिए । एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले पार्टीको अभियानलाई जसरी पनि सफल वनाईने दावी गरेका छन् ।