एमालेको मेची महाकाली अभियान, सप्तरीमा तनाव, दुई स्थानमा बम फेला, सभा २ बजेबाट सूरु हुने

दिनेश शर्मा

राजविराज, २३ फागुन । एमालेको मेची महाकाली राष्ट्रिय अभियानको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् । सदरमुकाम राजविराज, भारदह, कन्चनपुर, रुपनी लगायतका विभिन्न स्थानमा प्रदर्शन भईरहेको छ ।

राजविराज स्थित गजेन्द्र चोकमा बालेको टायर निभाउन प्रहरी गएपछि प्रहरी र मोर्चाबीच सामान्य तनाव उत्पन्न भएको छ, तर अवस्था सामान्य भईसकेको सप्तरीका डिएसपी दानवहादुर कार्कीले जानकारी दिएका छन् । यसैगरी मोर्चाले आह्वानमा गरेको चक्का जामका कारण छोटो दुरीका सवारी साधन संचालनमा आएका छैनन, तर राजमार्गमा भने सवारी साधन ओहोर दाहोर भईरहेको छन ।

यसैक्रममा चक्का जामको अवज्ञा गरेको भन्दै कंचनपुर र शम्भुनाथमा मोर्चाका कार्यकर्ताले सार्वजनिक सवारी साधनमा ढुंगामुढा गरेका छन् । सोहि आरोपमा प्रहरीले कंचनपुरवाट भुवनेश्वर भन्ने थापा यादव सहित ३ र शम्भुनाथवाट सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यता, स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । एमालेको कार्यक्रमस्थल गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्र लगायतका स्थानमा प्रहरीको उपस्थिती बाक्लो बनाईएको छ । एमालेका सप्तरी अध्यक्ष गोविन्द न्यौपानेका अनुसार अभियान टोली दिउँसो १ वजे सप्तरी प्रवेश गर्नेछ । उनले कार्यक्रमका लागि सम्पुर्ण तयारी सम्पन्न भएको जानकारी दिए ।

करिव १५ हजार सर्वसाधारण उपस्थित रहने सप्तरीको सभालाई एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्वोधन गर्ने छन ।

दुइ  स्थानमा बम फेला

सप्तरीका विभिन्न दुई स्थानमा सोमवार बम फेला परेको छ । नेकपा एमालेको मेची महाकालि राष्ट्रिय अभियान अन्तर्गत आमसभा गर्ने भनिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको दुवैतर्फ बम फेला परेको हो ।

सुरक्षाश्रोतका अनुसार रुपनी राजविराज सडक खण्ड अन्तर्गत औद्योगिक क्षेत्रवाट दक्षिण मलेठ गाविसको नहरचौक र उत्तरतर्फ रायपुर १ स्थित पिप्राही टोलको आसपासमा बम फेला परेको छ ।

वम डिस्पोजका लागि कृष्ण दल गण भलुवाही ब्यारेकवाट नेपाली शेनाको डिस्पोजल टोली त्यसतर्फ गईसकेको प्रहरीले जनाएको छ ।