एमालेको मेची महाकाली अभियानले मधेसमा द्धन्द्ध बढने महन्थ ठाकुरको चेतावनी

काठमाडौं, २१ फाल्गुन । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेकोले यसले मधेशमा द्धन्द्ध बढ्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ठाकुरले भने,‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, ।
एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, भन्दै ठाकुरले एमालेको अभियानबाट स्थिति सहज भए जिम्मेवारी एमालेले नै लिनुपर्छ ।’ उनले एमालेको अभियानले असहज स्थिति पैदा हुने खतरा औंल्याए ।
उनले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गर्दै भने,‘संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माँगहरु मधेशका मात्रै होईनन, यी त देशकै माँग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनिमात्रै चुनावको कुरा आउँछ।’ यद्धपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पारे ।