October 19, 2017

एमालेको अवरोध हटेसँगै संसदमा संशोधन विधेयकमाथि छलफल सुरु

काठमाण्डौ, १३ वैशाख । व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि बुधबारबाट सैद्धान्तिक छलफल सुरु भएको छ ।

बैठकमा कानुन मन्त्री अजयशंकर नायकले विधेयक छलफलका लागि पेश गरेका थिए । सरकारले ११ जिल्लामा स्थानीय तहको संख्या हेरफेरका लागि गरेको परिपत्र फिर्ता लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकको अवरोध हटाएको हो ।

एमालेले मंगलबारको बैठक र बुधबार दिनभर निर्वाचन घोषणाभएपछि पनि स्थानीय तहको संख्या थप्ने गरी परिपत्र गरिएको विरोधमा संसद अवरुद्ध गरेको थियो ।

यसअघि सरकारले ल्याएको संविधान संशोधन छलफल योग्य नभएको भन्दै विरोध गरेको एमालेले यसपटक भने छलफलमा भाग लिएको छ । छलफलमा भाग लिँदै एमाले सांसद प्रकाश ज्वालाले सीमाङ्कनका विषयमा अहिलेको संविधान संशोधन विधेयक ब्याक भएको जस्तो देखिए पनि एमले संसदीय दल विरोधमा रहेको बताए ।

त्यस्तै सांसद रेवतीरमण भण्डारीले नागरिकताको प्रावधानको संविधानको मान्यता विपरीत संविधान संशोधन गर्न खोजेको आरोप लगाए ।