October 22, 2017

एमालेका नेतालाई सप्तरीमा कालोमोसो दलियो

राजविराज, २० फाल्गुन । शनिबारदेखि सुरु हुने नेकपा एमालेको मेची–महाकाली अभियानको प्रचार–प्रसारमा रहेका एमाले नेता प्रतापनारायण चौधरीलाई कालोमोसो दलिएको छ ।

अभियानबारे पर्चा वितरण गर्दै हिँडेका चौधरीलाई शुक्रबार राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका हुन् । चौधरी एमाले सप्तरी जिल्ला उपसचिव हुन् ।

उनलाई राजविराजस्थित हटियामा पर्चा वितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले घेराहाली कालोमोसो दलेका थिए ।

चौधरीलाई कालोमोसो दल्न सुरु गरेपछि जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए ।

तर एमाले सप्तरी जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले भने ‘काम विशेषले मोटरसाइकलमा बजार निस्किएका चौधरीलाई मोर्चाका कार्यकर्ताले गाडीमा कालोझन्डा राख्न र पार्टी छोडन धम्की दिएपछि सोको प्रतिवाद गर्दा पछाडिबाट मोसो दलिएको’ बताएका छन् ।